अन्तरवार्ता


नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष श्री रेणुका काउचा मगरले दाङ्ग जिल्लाबाट प्रकासित मिरमिरे पत्रीका लाई दिनु भएको अन्र्तवार्ताको केही अंशहरु :
प्र.१. नेपाल मगर विद्यार्थी संघको सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा निर्वाचित हुन भएको छ यहाँलाई बधाई छ ।
    सातौ राष्ट्रिय महाधिवेशनबाट तपाईहरु लगायतका प्रतिनिधि मित्रहरुले जसरि मलाई नेपाल मगर विद्यार्थी संघको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गर्नु भएको छ, सर्वप्रथम त उहाँहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँहरु सबैको भावना र विचारलाई आत्मसाथ गरि संगठनको नेतृत्व गर्ने विश्वास दिलाउन चाहान्छु । यस कार्यमा सबै विद्यार्थी मित्रहरु र अग्रजहरुको सहयोग र समर्थन हुनेमा पनि आशावादी छु ।
प्र.२. लामो समय पछि नेपाल मगर विद्यार्थी संघले महिला नेतृत्व पाएको छ, यहाँलाई कस्तो लागेको छ ?
    स्वभाविक रुपमा नेपाल मगर विद्यार्थी संघ जस्तो राष्ट्रिय आकार भएको संगठनको नेतृत्वमा आउनु त्यति सजिलो त थिएन तर पनि मेरो संगठनको काममा लागेको निरन्तरता, अग्रज दाजु दिदीहरुको प्रेरणा र तमाम विद्यार्थी मित्रहरुको सहयोगमा म नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा निर्वाचित हुन सफल भए र संघले १७ वर्षे दौडानमा पहिलो पटक महिला नेतृत्व पाउनु आफैमा गर्वको विषय हो । यसले नेपाली समाजमा भएको कथित पुरुषवादी सोच विचारलाई पराष्ट पारि नेपार्ली  महिलाहरु पनि पुरुष सरह हरेक कार्य गर्न सक्षम छन् भन्ने उदाहरण दिएको छ भने हामीले उत्थान गर्दै आएको समावेसीताको मुद्दालाई आफ्नै संगठनभित्र महिला नेतृत्व स्थापित गरि उदाहरणिय बनाई दिएको छ ।
प्र.३. तपाई नेपाल मगर विद्यार्थी संघको अध्यक्ष भएपछि केन्द्रिय समितिको प्रथम बैठक काठमाडौंमा सम्पन्न भयो तर विधान संसोधन सम्बन्धी प्रस्ताव पारित हुन सकेन ? यो भनेको त पहिलो गासमै ढुङ्गा लाग्नु होइन र ?
    सातौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिको प्रथम बैठक काठमाडौंमा सम्पन्न भयो । यसमा हामीले विद्यार्थीहरुको समय, सरकारी विदा, आर्थिक पक्षलाई ध्यानमा राखि केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण सहित काठमाडौंमा राखेका हौं । र जहाँ सम्म विधान संसोधको कुरा छ यो प्रस्ताव नभई संसोधित विधान केन्द्रिय समितिमा जानकारी गराइएको थियो । किन भने विधान कस्तो बनाउने भन्ने विषयमा महाधिवेशनको बन्दशत्रको हलले सल्लाहकार श्री गौ.ब. आले मगरलाई जिम्मा दिइएको थियो र उहाँले अघिल्लो महाधिवेशनमा विधान मस्यौदाकारले विधानको व्यवहारिक पक्ष भन्दा पनि आफु नेतृत्वमा आउँदा कसरि फाइदा हुन्छ भन्ने खालको विधान ल्याएको र त्यसलाई विज्ञ व्यक्तिहरुसँग छलफल नै नगरि पारित भएको अवस्थामा त्यसको व्यवहारिक कठिनाईलाई हटाई गौ.ब.आले मगरले केन्द्रिय समितिलाई हस्तान्तरण गर्नुभएको हो । जसरि उहाँले विधान लिनु भएको छ त्यहि विधान प्रकाशन हुन्छ र संशोधन गर्नको लागि हामीले आठौं महाधिवेशन पर्खिनु पर्दछ । किनकि त्यसको एक अक्षर पनि तलमाथि गर्ने अधिकार महाधिवेशन भन्दा अरु कसैलाई छैन ।
प्र.४. नेपाल मगर विद्यार्थी संघ विशुद्ध जातीय संगठन हो भनेर विधानमा लेखिएको छ तर संघ राजनीतिबाट मुक्त रहेनछ नी?
    नेपाल मगर विद्यार्थी संघ विशुद्ध जातीय संस्था नै हो । विगतको दिनमा कसै कसैले यसलाई एउटा पार्टीको भ्रातृ संगठनको रुपमा परिचित गराउन भने नखोजेका होइनन् तर त्यस्ता व्यक्ति वा उनिहरुका प्रतिनिधिहरु संगठनमा टिक्न सक्दैनन् र टिक्न पनि दिनु हुँदैन । यदि तपाईले भनेजस्तै मैले वा जो कसैले त्यस्तो गर्ने दुसप्रयास गर्छ भने त्यसलाई आम विद्यार्थीले माफि दिने छैनन् । नेपाल मगर विद्यार्थी संघ विचारको दृष्टिकोणले अनेकतामा एकता कायम गर्दै मगर जातिको मुक्तिको खातिर आन्दोलित संस्था हो । स्वभाविक रुप मेरो विचार एउटा छ भने अर्कोको विचार अर्को हुन सक्छ तर नेपाल मगर विद्यार्थी संघमा आउँदा र मगरे जातिको मुक्तिको लागि हामि एउटै ठलोमा छौ र एकाबद्ध छौं । साथै नेपाल मगर विद्यार्थी संघ मगर जातिको राजनीतिक गर्ने ठलो हो यहाँ मगर जातिको मुक्तिको लागि हातेमालो गर्ने सबैलाई स्वागत छ । यदि नेपाल मगर विद्यार्थी संघलाई कसैले पार्टीकरण गर्न खोज्दछ भने त्यो हामि कसैलाई पनि मान्य हुँदैन ।
प्र.५. यदि नेपाल मगर विद्यार्थी संघ भित्र राजनीतिले प्रवेश पायो भने हाम्रो जातीय मुद्दाको वकालत हुन सक्छ ?
    हाम्रो आन्दोलन शुद्ध जातीय हुँदा हुँदै पनि हामीले यसलाई राजनीतिकरण गर्नु परेको छ । किनभने नेपालको सन्दर्भमा राजनीति निर्णय नै अन्तिम निर्णय हो । यस अर्थमा हाम्रो मुद्दा र हामीले उतथान गरेका विषयवस्तु राजनीतिकरण हुनु जरुरी छ । हामीले हाम्रो मुद्धालाई राजनीतिसँगै उत्थान गर्नु पर्दछ । तर कुनै पनि निश्चित विचार बोकेको पार्टीकरण हाम्रो संस्थामा हुनुहुदैन यदि त्यसो हुने भएमा त्यसको प्रतिकार तपाई हामी सबैले गर्नु पर्दछ ।
प्र.५. प्रसंग बदलौ अहिले तपाई नेपाल मगर विद्यार्थी संघको नेतृत्वमा हुनुहुन्छ वर्तमान परिस्थितिलाई कसरि हेर्नु भएको छ ?
    २०६२÷०६३ को १९ दिने आन्दोलनले नेपाली जनताको मुख्य दुश्मन राजतन्त्रको अन्त्य भई शान्तिपूर्ण ढङ्गले ऐतिहासिक संविधान सभाको निर्वाचन सम्पन्न भयो । तोकिएको समयमा संविधान निर्माण हुन नसकि राजनीति पार्टीहरुको आपसी सहमतिमा थपिएको दुई वर्षको समयसिमा पनि सकिन लागेको छ । ठूला राजनीति दलहरु, संविधान निर्माण, शासकिय स्वरुपको निर्धारण राज्यको पुनः संरचना जस्तो मुल मुद्दाहरुमा एकमत हुन नसक्दा संविधान जारि हुने÷नहुनेमा अनेकौं शंका÷उपशंका आम जनमानसमा उत्पन्न भएको छ ।अर्को तर्फ राष्ट्रिय अखण्डता, स्वाधिनता, स्वतन्त्रताको नाममा जातीय, पहिचानको आधामा संघिय राज्य निर्माण गर्न नहुने खालका धारणाहरु विभिन्न कोणबाट सार्वजनिक हुँदै आएको छ । यस्तो अवस्थामा सबै जातजाति, भाषा, संस्कृति, धर्म क्षेत्र र लिङ्गको समुदायको अधिकार सुनिश्चित भएको जनमुखि संविधान तोकिएको समयसिमाभित्र जारि गर्न नेपाल मगर विद्यार्थी संघ लगायत सम्पूर्ण जातीय संघियता पक्षधर पक्षहरुसँग नयाँ एकता कायम गरि जनदबाब सृजना गर्न अहिलेको मुख्य आवश्यकता हो ।
प्र.७. नेपाल मगर विद्यार्थी संघको आगामी दिनका कार्य योजनाहरु के के छन ? पक्कै पनि आफ्नो तर्फबाट आफ्नो तर्फबाट कार्ययोजना बनाउनुभएको छ होला नि ?
    संगठनलाई गतिशिल चुस्त दुरुस्त राख्नको लागि स्पष्ट कार्ययोजनाको आवश्यकता पर्दछ । संगठन विस्तार, परिचालन, अधिवेशन, पुर्नगठन, प्रशिक्षण, अन्र्तक्रिया, भेला,गोष्ठि आदि संगठनको दिर्घकालिन र नियमित कार्ययोजना अन्र्तगत पर्दछन् जुन कार्य विद्यार्थीहरुको अनुकुलता हेरी नियमित रुपमा गर्दै आएका छौ भने अहिलेको जटिल र गम्भीर परिस्थिलाई मध्यनजर गर्दै तोकिएको समय सिमाभित्र मगर लगायत सम्पूर्ण नेपाली जनताको भावना अनुरुपको जनमुखि संविधान जारि गर्न, आदिवासी जनजाति संघसंस्थाहरुसँग संयुक्त दबाबमुलक कार्यक्रम सृजना गर्ने र त्यसको लागि सम्पूर्ण मगर विद्यार्थीहरुलाई सचेत गराउन संघको पहिलो बैठकले देशव्यापि, प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरि कार्यान्वयनमा लागेको छ । त्यसै गरि आसन्न स्ववियू निर्वाचनलाई मध्यनजर गरी जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातीक निर्वाचन प्रणालीमा स्ववियूको चुनाव हुनुपर्दछ  भन्ने धारणा आदिवासी जनजाति विद्यार्थी महासंघ मार्फत त्रिभुवन विश्वविद्यालय र सम्पूर्ण राजनीतिक विद्यार्थी संगठनहरु समक्ष पेश गरेका छौं ।
प्र.८. देशमा जेष्ठ १४भित्र नयाँ संविधान घोषणा हुदैं छ । पहिला कुरा त देशमा संविधान बन्न नै गा¥हो छ । यदि संविधान बन्यो भने उक्त संविधान हाम्रा कस्ता खालका मुद्दाहरु समावेश हुन आवश्यक छ ?
    आगामी जेष्ठ १४ भित्र नयाँ संविधान घोषणा हुन्छ कि हुदैन भन्ने जुन शंका उपशंका उतपन्न भएको छ यो नेपालको राजनीतिक पार्टीहरुको विगत देखिएको व्यवहारको कारण हो । राजनीतिक पार्टीका शीर्ष नेताहरु साँच्चीकै नयाँ संविधान जारी गर्ने इच्छा शक्तिले काम गरे भने तोकिएको समय सिमा भित्र नै नयाँ संविधान जारी हुन्छ । यदि नयाँ संविधान जारी हुन सकेन भने राज्यले ठुलो क्षति व्यहोर्नू पर्ने निश्चित छ । त्यसकारण सवै नेपाली जनताको एउटै चाहना छ कि नेपाली जनतालो चाहे जस्तो जनमुखि संविधान घोषणा गरियोस् । र उक्त नयाँ संविधानमा मगरात राज्यसहित नेपालका सबै जाति, भाषा, धर्म, लिङ्ग र क्षेत्रका समुदायको हक, अधिकारको सुनिश्चिित भएको संविधान घोषणा हुनु पर्दछ ।
प्र.९. नेपाल मगर संघलाई कस्तो खालको संघिय शिक्षा प्रणाली चाहिएको हो ?
    राज्य पुन ः संरचना जस्तै संघिय शिक्षा प्रणाली एक गहन र जटिल विषयवस्तु हो । यस विषयमा सम्बन्धीत क्षेत्रका विशेषज्ञहरुको अध्ययन र छलफलबाट संघिय गणतन्त्र नेपालभित्र शिक्षाको मोडल कस्तो रहने भनी अध्ययन अनुसन्धान गरी त्यहि अनुरुपको संघिय शिक्षाप्रणाली लागू गरिनु पर्दछ । नेपाल मगर विद्यार्थी संघले विगत देखि नै भन्दै आएको छ । शिक्षा सबै क्षेत्र, वर्ग, जातजातिको समान पहुँचमा हुनु पर्दछ । शिक्षामा देखिएको असमान सुविधा र समान प्रतिस्पर्धा, परिक्षा प्रणालीमा हुने जटिलता, अव्यवहारिकता र लापरवाही शिक्षाको नाममा भईरहेको निजीकरण र व्यापारीकरणलाई अन्त्य गरी राज्य स्तरबाटै सम्पूर्ण बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्दछ । साथै विभिन्न जातजातिको सघन बसोबास र त्यहाँ बोलिने भाषाको आधारमा मातृ भाषाको शिक्षालाई उच्च शिक्षासम्म निशुल्क व्यवस्था गरिनुपर्छ । मातृभाषाको शिक्षा कार्यानवयन गर्दा सम्बन्धीत जातिको भाषा, संस्कृति, परम्परा, सिप र कलालाई मातृ भाषाको पाठ्यक्रममा समावेश गरि उनीहरुको पहिचानको संरक्षण र संबद्र्धनमा विशेष जोड दिनुपर्दछ । साथै सबै भाषाको विकासको लागि महेन्द्र संस्कृति विश्वविद्यालयलाई खारेज गरी बहुभाषिक विद्यालयको स्थापना गर्नुपर्दछ ।
प्र.१० अन्त्यमा यस मिरमिरे पत्रिका मार्फत दाङ्गबासी मगर विद्यार्थी लगायत देशभरि छरिएर रहेका मगर समुदायलाई के भन्न चाहनु हुन्छ?
    सर्वप्रथम त यस मिरमिरे पत्रिकाले निरन्तरता पाओस् र पत्रिकाले मगर समुदायको मुद्दाहरुलाई उत्थान गरोस् भन्ने कामना गर्दछु । साथै यस पत्रिका मार्फत देशभरका युवा विद्यार्थीहरुलाई हामि भूगोल, विचार र भाषाको दृष्टिकोणले जहाँ जे भए पनि मगर जातिको मुक्तिको बाटोमासँगै यात्रा गरिराखेको छौं । यसमा हाम्रा सबै वैचारिक मतभेदलाई थाति राखी हातेमालो गर्नमा आव्हान गर्दछु । साथै जो जो जहाँ जहाँ छौं आफ्नो ठाँउबाट मगर समुदायको मुद्दाहरुलाई उत्थान गरी नेपाल मगर विद्यार्थी संघ लगायत सम्पूर्ण मगर संघ संस्थाहरुसँग सहकार्य गर्दै हाम्रो समुदायको मुक्तिको बाटोमा लाग्न सम्पूर्ण युवा विद्यार्थीहरुलाई हार्दिक अपिल गर्दछु ।